किराती तीर्थस्थल साल्पा सिलिचुङमा सुम्निमा पारुहाङको प्रतिमा बन्दै
काठमाडौँ — किरात समुदायको मुन्दुम धार्मिक तथा सांस्कृतिकस्थल साल्पा सिलिचुङमा आदिम सृष्टिकर्ता सुम्निमा र पारुहाङको प्रतिमा स्थापना हुने भएको छ । भोजपुरको साल्पासिलिछो गाउँपालिका–५ मा रहेको उक्त धार्मिकस्थल समुद्री सतहदेखि ४ हजार १५३ मिटर उचाइमा रहेको छ ।
अग्ला पहाडै पहाडले घेरिएको कचौरा आकारमा विशाल पोखरी रहेको छ । यहाँ वैशाख, भदौ, कात्तिक र फागुन महिनाको पूर्णिमामा मेला लाग्दछ । भोजपुर, खोटाङ, संखुवासभा, धनकुटा, सोलुखुम्बुलगायत ठाउँबाट भक्तजन सहभागी हुन्छन् ।
साल्पा सिलिचुङ सरोकार संरक्षण तथा प्रवर्द्धन केन्द्र अन्तर्राष्ट्रिय समितिले काठमाडौंमा ‘साल्पा सिलिचुङ/सिलिछो परियोजना’को घोषणा गरेको छ । परियोजना सञ्चालनका निम्ति साल्पा सिलिचुङ सरोकार संरक्षण तथा प्रवर्द्धन केन्द्र र साल्पासिलिछो गाउँपालिकाबीच सम्झौता भएको छ । परियोजनाले किरात मुन्दुमी पूजाथान, वाबुक सोलोन्वा चिन्डो आकारको (मुन्दुमी गेट) र मुन्दुम संग्रहालय निर्माण गर्ने भनेको छ । साल्पापोखरीसँग जोडिएका मुन्दुम मिथकका पात्रहरूको प्रतिमा स्थापना गरिने भएको छ ।
नेपाल प्रज्ञा प्रतिष्ठानको कुलपति भूपाल राईले परियोजनाको उद्घाटन गर्दै साल्पा पोखरी ऐतिहासिक तथा किरात धार्मिक आस्थाको केन्द्र रहेको बताए । मुन्दुमीस्थल साल्पा सिलिचुङको प्रागइतिहास र मुन्दुमी महत्त्वबारे नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको कुलपति नारादमणि हार्तम्छाली, इतिहास तथा संस्कृति अध्यतात्रय चतुरभक्त राई, कमलजंग राई र भोगीराज चाम्लिङले चर्चा गरेका थिए ।
साल्पा सिलिचुङ सरोकार संरक्षण तथा प्रवर्दन केन्द्र अन्तर्राष्ट्रिय समितिका अध्यक्ष मूलघरे कान्छा (राजेन खिम्बुले राई)ले साल्पा सिलिचुङमा मुन्दुमको उत्पत्ति भएको जनविश्वास रहेको बताए । ‘मुन्दुम अनुसार सर्वप्रथम सृष्टिकर्ता सुम्निमा र पारुहाङ यही सिलिचुङमा भेट भएकोले सिलिचुङलाई पारुखामको रूपमा लिने गरिन्छ,’ अध्यक्ष राईले भने, ‘त्यस्तै किरातीको आदिम पुर्खाहरू रिकापा–रिभ्यामा, साल्पाहाङ–रिब्रिहाङमा/रिब्रिमा अर्थात् साल्पा राजा र साल्पा रानी जस्ता आदिम पुर्खाहरूको आदिमथलो यही थियो ।’
यो क्षेत्र भोजपुर, सोलुखुम्बु, संखुवासभा र खोटाङ जिल्लाको संगम स्थल हो । यहाँ मुन्दुमी नछुङ, माङ्पा, धामी बिजुवाहरू वर्षेनी भदौ पुर्णिमा, कात्तिक पूर्णिमा, फागुन पुर्णिमा र वैशाख पूर्णिमा तिथिमा मुन्दुमी शक्ति आर्जन गर्न साल्पा–सिलिचुङ जाने गर्दछन् । मुन्दुम पदमार्गसँग जोडिएको छ । धेरै किसिमको गुराँस, जडीबुटीजन्य वनस्पति, रेडपान्डालगायत वन्यजन्तु, अनेक प्रकारका चराचुरुङ्गी पाइने गाउँपालिकाकी उपाध्यक्ष अस्मिता राईले बताइन् ।
त्यस अवसरमा साल्पा पोखरीको महत्त्व र किरात मुन्दुम संस्कृतिबारे अखिल किरात राई संघ सिक्किमको अध्यक्ष मोहन दुङ्माली, किरात राई यायोक्खाका उपाध्यक्ष देवान राई, युनाइटेड किरात राई अर्गनाइजेसन अफ अमेरिकाका महासचिव मुक्ति राई, साल्पासिलिछो गाउँपालिकाका अध्यक्ष दौलत कुलुङलगायतले चर्चा गरेका थिए ।
साभार : कान्तिपुर दैनिक
